कहिलेकाहीँ जीवन यति निर्दयी बन्छ कि, पर्दामा अरूलाई डर देखाउने कलाकार अन्त्यमा आफ्नै पीडासँग हारिरहेको भेटिन्छ। नेपाली चलचित्रका चर्चित खलनायक पवन मैनालीको जीवन आज त्यस्तै एउटा दर्दनाक कथामा बदलिएको छ। एक समय उनको आवाज सुन्नासाथ हल सन्नाटा हुन्थ्यो, उनको आँखाको हेराइले दर्शक झस्किन्थे, अनि उनको अभिनयले पर्दामा आगो बाल्थ्यो। तर आज त्यही कलाकार आफ्नै शरीरभित्र कैद छन्। शरीरको आधा भाग चल्दैन, स्पष्ट बोल्न सक्दैनन्, पाइला कमजोर छन्। तर मनभित्र अझै अभिनय गर्ने अधुरो सपना बाँकी छ।


ADVERTISEMENT


एक समय नेपाली चलचित्र उद्योगमा उनको नाम नै पर्याप्त थियो। वसन्ती , शिवशक्ति , आँधीबेहरी , आफन्त , जन्मभूमि, छोरी बुहारी , सुन चांदी , ज्वाला , पहिलो प्रेम , दौंतरी, मजदूर , आर्मी , खुकुरी जस्ता सयभन्दा बढी चलचित्रमा उनले आफ्नो अभिनयले जीवन फुके। विशेष गरी ” पिंजडा ” चलचित्रले उनलाई दर्शकमाझ अमर बनायो। तर नियतिले कस्तो क्रूर मजाक गर्‍यो भने, आज त्यही “ पिंजडा ” उनको वास्तविक जीवन बनिदियो। पर्दामा निभाएको पात्रजस्तै उनी आफ्नै जीवनको अँध्यारो पिंजडाभित्र थुनिए, जहाँबाट बाहिर निस्कन चाहेर पनि निस्कन सक्दैनन्।


ADVERTISEMENT

# # #


२०५९ साल फागुन ८ गते बाराको निजगढमा भएको एउटा सवारी दुर्घटनाले उनको जीवनलाई एकै क्षणमा तहसनहस बनाइदियो। ” दिदी बैनी ” चलचित्रको छायांकन सकिन केही दिन मात्र बाँकी थियो। उनीसँग अझै धेरै सपना थिए, धेरै भूमिका बाँकी थिए, धेरै तालीहरू सुन्न बाँकी थियो। तर नियतिले सबै खोसिदियो। दुर्घटनापछि उनी एक महिनासम्म बेहोस रहे। डाक्टरहरूले बाँच्ने आशा लगभग छोडिसकेका थिए। तर मृत्युले पनि शायद उनलाई तत्काल लिन मानेन, किनकि जीवनले अझै उनलाई पीडा भोग्न बाँकी राखेको थियो।

होस खुलेपछि उनी पहिलेका पवन रहेनन्।”स्प्यास्टिक हेमिप्लेजिया ” रोगले उनको शरीरमात्र होइन, उनको अस्तित्व नै तोडिदियो। हिँड्न गाह्रो भयो, सम्झनाहरू धमिलिन थाले, शब्दहरू अल्झिन थाले। एक समय क्यामेराअघि घण्टौं उभिने कलाकार आज ओछ्यानबाट उठ्न पनि संघर्ष गर्छन्। कहिलेकाहीँ जीवन साँच्चै यति निर्मम हुँदो रहेछ कि, मान्छेलाई बाँचिरहेको लाशजस्तै बनाइदिन्छ।

सबैभन्दा पीडादायी कुरा त के छ भने, जुन कलाकारको अभिनयमा हल तालीले गुञ्जिन्थ्यो, आज त्यही कलाकारलाई सम्झिने मानिसहरू पनि कम हुँदै गएका छन्। समय बित्दै गयो, साथीहरू टाढा भए, फोन आउन छाडे, ढोका ढकढक्याउने मान्छेहरू हराए। नेपाली चलचित्रका दर्शकलाई डर र रोमाञ्च दिने त्यो अनुहार आज कपनको एउटा सानो कोठाभित्र चुपचाप जीवनसँग हार्दै बसिरहेको छ। मासिक केही हजार रुपैयाँ भत्ता र थोरै सहयोगकै भरमा दिन कटिरहेका छन्।

तर त्यो अँध्यारो जीवनमा एउटा मान्छे अझै उज्यालो बनेर उभिएकी छन् , उनकी श्रीमती लक्ष्मी शिवाकोटी। जो पहिले उनकी फ्यान थिइन्, पछि जीवनसाथी बनिन्। अहिले उनी केवल श्रीमती होइनन्, पवनको सिंगो संसार हुन्। औषधि दिने हात, आँसु पुछ्ने काँध, अनि बाँच्न सिकाउने साहस पनि उनी नै हुन्। पवन जब भावुक हुँदै भन्छन्, “ उनी नभएको भए म बाँच्न सक्दिनँ थिएँ…” तब त्यो सुन्दा मन नै भक्कानिन्छ , किनकि त्यो शब्दभित्र एउटा असहाय पुरुषको पीडा, एउटा कलाकारको एक्लोपन, र एउटा जीवनको टुक्रिएको सपना लुकेको छ।

आज पनि उनी भन्छन्, “म अझै अभिनय गर्न सक्छु… दौडिन र फाइट खेल्न मात्र सक्दिनँ…”। तर त्यसपछि आउने एउटा वाक्यले भने जोकोहीको पनि मन चिरिदिन्छ । उनी भन्छन , “म निभेको आगो हुँ… कसैले ताप्दैन…”।

यो केवल एउटा कलाकारको गुनासो होइन, हाम्रो समाजमाथिको प्रश्न हो। हामी कलाकारलाई माया गर्छौं, उनीहरूको अभिनयमा ताली बजाउँछौं, उनीहरूको संवादमा रमाउँछौं। तर जब समयले त्यही कलाकारलाई कमजोर बनाइदिन्छ, तब हामी कति सजिलै उनीहरूलाई बिर्सिदिन्छौं।

पवन मैनाली आज एउटा नाम मात्र होइनन्, उनी एउटा अधुरो सपना हुन्। एउटा यस्तो कलाकार, जसले जीवनभर अरूलाई मनोरञ्जन दिए, तर अन्त्यमा आफ्नै जीवनमा खुसी भेट्न सकेनन्। सायद रातको कुनै शान्त क्षणमा उनी अझै त्यो पुरानो समय सम्झन्छन् होला, जहाँ हलभरि ताली बज्थ्यो, जहाँ उनको नाम सुन्दा दर्शक उत्साहित हुन्थे। तर आँखाहरू खुल्नेबित्तिकै उनी फेरि त्यही कठोर यथार्थमा फर्किन्छन् । एउटा सानो कोठा, कमजोर शरीर, र भित्ताभरि टाँसिएका पुराना सम्झनाहरू। साँच्चै, कति दुःखद हुन्छ होला, जब एक समय हजारौं दर्शकको मन जितेको कलाकार अन्त्यमा आफ्नै पीडासँग एक्लै हारिरहनु पर्छ।