काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाहरुमा १४ वटा विद्यालयहरुको निर्माणका लागि सम्झौता पत्रहरुमा हस्ताक्षर गरेको छ ।
यी विद्यालयहरु नेपालमा सञ्चालित भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताकै हिस्साको रुपमा नेरु। ५६.०२ करोड अनुदान सहयोगमा निर्माण हुनेछन् । उक्त कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरु तथा ठेकेदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
यी विद्यालयहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, फर्निचर सहितका कक्षाकोठाहरु तथा छात्र एवम् छात्राका लागि छुट्टाछुट्टै सरसफाइका संरचनाहरु रहनेछन् ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत ८ वटा जिल्लाका ७० वटा विद्यालयहरु र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेका छन् ।
भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको छ ।


























































