काठमाडौं – बागमती प्रदेश सुशासन केन्द्र, जावलाखेल ललितपुरद्वारा आयोजित ‘स्थानीय तहका न्यायिक समितिका संयोजक (उपप्रमुख/उपाध्यक्ष) तथा सहजकर्ताहरूका लागि स्थानीय तहका न्यायिक समितिबाट सम्पादित असल अभ्यास र फैसला लेखन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।


ADVERTISEMENT


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले जनप्रतिनिधिहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। उनले नागरिकमा विश्वास र भरोसा कायम गर्दै छिटो, सहज तथा प्रभावकारी सेवा प्रवाह गर्नु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गरे।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले स्थानीय तहमा उत्पन्न हुने विवाद तथा मुद्दाहरूलाई सकेसम्म संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए। जग्गा, सिमाना तथा अन्य विषयसँग सम्बन्धित विवादमा दुवै पक्षको कुरा सुनेर निष्पक्ष ढंगले समाधान खोज्नु नै जनप्रतिनिधिको मूल धर्म भएको उनको भनाइ थियो।

उनले संवाद र सहमतिबाट समस्या समाधान हुन नसकेपछि मात्र न्यायिक समितिले निर्णय दिनुपर्ने बताए। निर्णय गर्दा कुनै पनि पक्षप्रति पूर्वाग्रह नराखी निष्पक्ष, न्यायपूर्ण र कानुनसम्मत ढंगले काम गर्नुपर्ने उनको धारणा थियो। साथै जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च अदालतले स्थापित गरेका कानुनी सिद्धान्त र नजिरलाई आधार बनाएर फैसला गर्नुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री बानियाँले न्याय सम्पादनका क्रममा तथ्य, प्रमाण र कानुनलाई आधार बनाउनुपर्ने उल्लेख गर्दै न्यायिक समितिका पदाधिकारीहरूले आफ्नो इमानदारी, नैतिकता र जिम्मेवारीलाई सधैं केन्द्रमा राख्नुपर्ने बताए। न्यायको उद्देश्य कसैलाई अन्याय गर्नु नभई न्याय स्थापित गर्नु रहेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूलाई कानुनी ज्ञान, न्यायिक प्रक्रिया तथा निर्णय प्रक्रियासम्बन्धी जानकारी प्रदान गर्न योगदान पुर्‍याउने सम्बन्धित कार्यालय, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद दिँदै उनले यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रमले न्यायिक समितिलाई थप सक्षम, प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले संविधानले प्रदान गरेको अधिकार र जिम्मेवारीलाई आत्मसात गर्दै जनप्रतिनिधिहरूले निडर, निष्पक्ष र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए। राजनीतिक आस्था, व्यक्तिगत सम्बन्ध वा अन्य कुनै प्रभावभन्दा माथि उठेर सत्य र न्यायलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

उनले विशेषगरी कमजोर, निमुखा, पीडित तथा आवाजविहीन नागरिकले सहज रूपमा न्याय पाउने वातावरण निर्माण गर्नु जनप्रतिनिधिको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै सत्य, न्याय र इमानदारिताको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरे।

मुख्यमन्त्री बानियाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवले आगामी दिनमा न्यायिक जिम्मेवारी निर्वाह गर्न थप सहजता र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गर्दै सहभागीहरूको सफल कार्यकाल तथा न्यायपूर्ण सेवाका लागि शुभकामना व्यक्त गरे।