काठमाडौं- लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा तेस्रोलिंगी वर्षा ठकुरी निर्वाचित भएकी छन्। लुम्बिनी प्रदेशको भालुवाङमा सम्पन्न १२ जिल्लाका युवाहरूको सम्मेलनले तेस्रोलिंगी ठकुरीलाई अध्यक्षमा निर्वाचित गरेको हो।


ADVERTISEMENT


उनीसँगै चुनावी प्रतिस्पर्धामा रहेका पुरुष र महिला उम्मेदवार पराजित भएका छन्। वर्षा ३ मतको अन्तरले निर्वाचित भएकी हुन्। उनले यसलाई हार–जितको रूपमा नभई सबैको साझा जितका रूपमा लिनुपर्ने बताएकी छन्।


ADVERTISEMENT

# # #


फरक पहिचान समाज नेपाल र मायाको पहिचान नेपालमा कार्यरत वर्षाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ। पहिलो पटक लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्षमा तेस्रोलिंगी व्यक्ति निर्वाचित हुनुलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्।

लुम्बिनी प्रदेश युवा मञ्चको सह-अध्यक्षमा आस्था बि.क र सदस्यसचिवमा प्रियङ्का गिरी निर्वाचित भएका छन्। सदस्यहरूमा समीक्षा पुन मगर, रुद्रमणि भुसाल, कविता बुढा, विष्णु बि.क, रवि बि.क, अमृत बि.क, आशिष शक्ति राज, रेजिना मिया, रमेश बड र समीक्षा बि.क निर्वाचित भएका छन्।मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले लुम्बिनी प्रदेशमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्वसँग सम्बन्धित एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन्।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका युवाहरूको सहभागितामा सम्पन्न युवा सम्मेलनबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक एलजीबीटी आईक्यूएं समुदायकी प्रतिनिधि वर्षा ठकुरी लुम्बिनी प्रदेश नागरिक समाज युवा सञ्जालको अध्यक्ष पदमा निर्वाचित भएकी छन्।

मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले यस उपलब्धिलाई कुनै एक व्यक्तिको सफलता मात्र नभई सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सामूहिक विजयका रूपमा व्याख्या गरेका छन्।

दुवै संस्थाले लोकतन्त्रको वास्तविक अभ्यास भनेको सीमान्तकृत तथा बहिष्कृत समुदायहरूको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्नु रहेको उल्लेख गर्दै समाजका सबै तह र संरचनामा समान अवसर र प्रतिनिधित्व आवश्यक रहेको बताएका छन्।

संस्थाहरूका अनुसार छोटो समयमै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधि सम्मानित नेतृत्वदायी भूमिकामा निर्वाचित हुनु गौरवको विषय हो। यस उपलब्धिले समावेशिता, समानता र सशक्तीकरणका लागि भइरहेको अभियानलाई थप ऊर्जा, उत्साह र प्रतिबद्धतासहित अगाडि बढाउन प्रेरणा प्रदान गरेको उनीहरूको भनाइ छ।

मायाको पहिचान नेपाल र फरक पहिचान समाज नेपालले यस सफलताले आगामी दिनमा अझ प्रभावकारी हस्तक्षेप, व्यापक प्रतिनिधित्व र समुदायको नेतृत्व विकासका लागि काम गर्न थप प्रेरित गरेको बताएका छन्।