हेटौडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराध नियन्त्रण, कानुनी शासनको सुदृढीकरण तथा शान्ति सुरक्षाको प्रत्याभूति राज्यको प्रमुख दायित्व भएको बताएका छन्।


ADVERTISEMENT


अपराधसम्बन्धी समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले अपराधका सामाजिक कारणहरूको पहिचान, घटनाको अनुसन्धान, प्रमाण सङ्कलन तथा कानुनी दायरामा ल्याउने प्रक्रियालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।


ADVERTISEMENT

# # #


उनले निर्दोष व्यक्तिलाई अपराधी ठहर गर्ने वा झुटा आरोप लगाउने कार्यले समाजमा गम्भीर अन्याय सिर्जना गर्ने भएकाले अनुसन्धान र न्यायिक प्रक्रियामा निष्पक्षता कायम रहनुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री बानियाँले प्रदेशभर भइरहेका अपराधका घटनाहरूको नियमित समीक्षा गर्दै सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। उनले प्रहरी संगठनले नागरिकको विश्वास जित्दै उत्कृष्ट सेवा प्रवाह गर्नुपर्ने बताउँदै प्रदेश सरकारले आवश्यक स्रोत, साधन र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

संविधानले प्रदेश सरकारलाई प्रदान गरेका अधिकारहरूको पूर्ण उपयोग गर्दै शान्ति सुरक्षा, कानुनी शासन र नागरिकको सुरक्षासम्बन्धी विषयमा आवश्यक सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाइने मुख्यमन्त्री बानियाँको भनाइ छ।

गोष्ठीमा सहभागी सुरक्षा निकायका अधिकारीहरू, कर्मचारी तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै उनले अपराध नियन्त्रण तथा नागरिकको भरोसा कायम राख्ने अभियानमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए। साथै, बागमती प्रदेश सरकारले सुरक्षा संवेदनशीलता बढाउने र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।