काठमाडौं – निर्वाचन आयोगका लागि प्रस्तावित दुई आयुक्तले संसदीय सुनुवाइ समितिसमक्ष कार्ययोजना प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाई समितिमा आयोगका प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बाले आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो । प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेले निर्वाचन प्रणालीलाई आधुनिक, प्रविधिमैत्री र जनताको अपेक्षा अनुरूप बनाउन एकीकृत निर्वाचन कानुनको निर्माण र कार्यान्वयन गर्ने योजना प्रस्तुत गरे । उनले स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि सूचना प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नवीनतम अवधारणाको प्रयोग गर्ने उल्लेख गरे । विदेशमा रहेका तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूको मताधिकार सुनिश्चित गर्ने र निर्वाचनमा कुनै पनि उमेदवारलाई मत दिन्न भन्ने व्यवस्था राख्ने उनले जनाए ।


ADVERTISEMENT

# # #


त्यस्तै प्रस्तावित निर्वाचन आयुक्त डा. राजीब सुब्बाले निर्वाचनको विश्वसनीयता, पारदर्शिता तथा सूचना अखण्डताको सुदृढीकरण गर्ने धारणा राखे । समयसान्दर्भिक निर्वाचन कानुन तथा प्रणाली सुधारको आवश्यकता र आयोगको संस्थागत सुदृढीकरण तथा सुशासनमा आफुले ध्यान केन्द्रीत गर्ने उनले बताए । उनले कानुन निर्माण गरी डेटा प्रणालीहरूलाई एकीकृत गर्दा निर्वाचन आयोग थप आधुनिक, पारदर्शी बन्ने धारणा राखे ।

बैठकमा समिति सदस्यहरुले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने योजनाका बारेमा चासो राखेका थिए । समिति सदस्य पद्मा अर्यालले निर्वाचनमा धाँधली भएका घटनामाथि छानविन हुन नसक्दा नजितामाथि प्रश्न उठ्ने बताए । उनले आयोगको लागि मुख्य चुनौती भनेकै निष्पक्ष निर्वाचन गराउनुभएको उनको भनाइ छ ।

त्यस्तै समिति सदस्य बर्षमान पुनले विदेशमा रहेका लाखौँ नेपाली मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी गराउने योजनाका बारे प्रश्न गरेको थियो । समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइ बुधबार हुने जनाएको छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।