काठमाडौँ- धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै नेपालका कृषकलाई राहत मिल्ने भएको छ। नेपाल सरकारको आग्रहमा भारतले ५० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।
सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याइनेछ। कृषि सामग्री कम्पनी लिमिटेडले भारतीय कम्पनीलाई खरिद आदेश पठाइसकेको र भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार हाल देशभर पर्याप्त मात्रामा युरिया र डीएपी मौज्दात रहे पनि आगामी खेतीपातीको मागलाई ध्यानमा राख्दै थप मल आयात प्रक्रिया अघि बढाइएको हो। भारतीय पक्षले पनि नेपालको आवश्यकतालाई प्राथमिकतामा राख्दै सकेसम्म छिटो आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ लाख मेट्रिक टन मल आपूर्तिको लक्ष्य राखेको छ भने हालसम्म ४ लाख ९१ हजार मेट्रिक टन मलका लागि खरिद प्रक्रिया सम्पन्न भइसकेको जनाएको छ।


























































