काठमाडौं – नेपाली कांग्रेसले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउन सदस्यता नवीकरण तथा अद्यावधिक अभियानलाई तीव्रता दिएको छ। पार्टीले तोकिएको समयसीमाभित्र सदस्यता नवीकरण गर्न सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक कार्यको निर्धारित समयावधि भोलि समाप्त हुने भएको छ ।
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये बुधबारसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्।
१ लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले बताएका छन्।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउँदै पार्टीको संगठनात्मक संरचनालाई मजबुत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिरहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक पौडेलको भनाई छ। पौडेलले वडा तहदेखि केन्द्रसम्मका कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सक्रिय सहभागिता जनाउन निर्देशन दिइएको बताएका छन्।
पार्टीका अनुसार सदस्यता नवीकरणले संगठनको वास्तविक अवस्था पहिचान गर्न, कार्यकर्ताको अभिलेख व्यवस्थित राख्न तथा आगामी संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। साथै, आगामी महाधिवेशन तथा विभिन्न राजनीतिक कार्यक्रमहरूको तयारीका लागि पनि सदस्यता अद्यावधिकलाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको छ।
कांग्रेस नेतृत्वले समयमै सदस्यता नवीकरण गरी पार्टीलाई अझ एकताबद्ध, चलायमान र सशक्त बनाउन सम्पूर्ण सदस्यहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ। सदस्यता अभियानमार्फत संगठनमा नयाँ ऊर्जा थपिने र पार्टीको जनाधार अझ मजबुत हुने विश्वास कांग्रेसले लिएको छ।


























































