काठमाडौं- नेपालको कर्णाली प्रदेशको हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२ मा मिति २०८३ जेठ २८ गते नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास गरिएको छ ।
अस्पताल भवन भारत सरकारको आर्थिक सहयोग करिब नेरु १४.८ करोडमा निर्माण हुँदैछ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिने भएको छ ।
चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रसंशा गरेका छन् र नयाँ संरचनाले चंखेली गाउँपालिकामा स्वास्थ्य सेवाहरुमा राम्रो पहुँच पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई दोर्याएका छन्।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता नेपालका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरु समेट्ने गरी करिब ६०० वटा परियोजनाहरु सञ्चालन गरिएका छन् । नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्लामा तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यसअघि भारत सरकारले सर्केगाडस्थित सरस्वती माध्यमिक विद्यालयको हाताभित्र पुस्तकालय भवन निर्माणका लागि र चंखेली–दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो । भारत सरकारले सन् २०२४ जुलाईमा हुम्ला जिल्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरु सम्मिलित १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको पनि आयोजना गरेको थियो ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरुमा पूर्वाधार विकास गर्नुका साथै विकास र समृद्धिलाई अगाडि बढाउने नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्छ ।


























































