काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै वर्तमान सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन्।


ADVERTISEMENT


आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताएका छन्। उनले १ खर्बभन्दा बढी बिगो मागसहित नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल अहिले न्यायिक प्रक्रियामा रहेको जानकारी दिएका छन्। मन्त्री वाग्लले मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्न सरकारले अर्थव्यवस्थामा देखिएको सम्पूर्ण उल्झनलाइ हटाउने अभियान सुरु गरेको बताएका छन् । उनले युवाहरुलाई विदेशिन नपरोस भन्नका लागि मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन सरकार ५ वर्षको स्पष्ट रोडम्यापसहित अघि बढिरहेको दाबी समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी सोही कार्यक्रममा बोल्दै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मन्त्रालयको करिब ८० प्रतिशत काम वैदेशिक रोजगारसम्बन्धी समस्या समाधानमै केन्द्रित भइरहेको बताएका छन् । उनले नीतिगत सुधारका लागि १०० दिनभित्रै वैदेशिक रोजगार ऐन संशोधन गरेर आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिएका छन् ।उनले युवाहरूलाई रोजगार खोज्ने मात्र नभई अवसर पहिचान गर्ने र असफलतासँग नडराई सानै स्तरबाट भए पनि उद्यम सुरु गर्न जोड दिएका छन्।

विश्व बजारलाई लक्ष्य गर्दै नेपालको अदुवा, चियादेखि लिएर सूचना प्रविधि (आईटी) क्षेत्रसम्म निर्यात गर्नुपर्नेमा उनले जोड दिएका छन्। साथै, वैदेशिक रोजगारीका लागि खाडी लगायतका मुलुकमा जाने श्रमिकहरूको हकमा न्यूनतम ५०० अमेरिकी डलरभन्दा कम तलबमा श्रम स्वीकृति नदिने अडान सरकारले लिएको उनले स्पष्ट पारेका छन् ।