काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा गएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन्।
परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बिहान बेइजिङ पुगेका हुन्। उनलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।
आज अपराह्न परराष्ट्रमन्त्री खनाल उनको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गरेका दूतावासले जनाएको छ । कार्यक्रममा उनले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको गरेका छन्। साथै उनले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गरेका छन्।
यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोपेका थिए । साथै, उनले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिएका थिए । मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिएका छन्।


























































