काठमाडौं – भारतको अग्रणी पियर-टु-पियर (P2P) ऋण प्लेटफर्ममध्ये एक LenDenClub का सह-संस्थापक : दीपेश कार्कीले भारतस्थित नेपाली दूतावाससँगको अन्तर्वार्तामा आफ्नो उद्यमशील यात्राबारे अनुभव साझा गरेका छन्। उनले COMPEX छात्रवृत्ति र भारतमा प्राप्त शिक्षा तथा अनुभवले आफ्नो जीवन र करियरलाई नयाँ दिशा दिएको बताएका छन्।
खोटाङ जिल्लाको हौंचुर गाउँमा शिक्षक परिवारमा जन्मिएका कार्कीले साधारण पारिवारिक पृष्ठभूमिबाट संघर्ष गर्दै उच्च शिक्षा हासिल गरेका थिए। सन् २००७–०८ मा प्राप्त COMPEX छात्रवृत्तिले उनलाई भारतको National Institute of Technology Kurukshetra मा इलेक्ट्रोनिक्स तथा सञ्चार इन्जिनियरिङ अध्ययन गर्ने अवसर दिएको थियो। यही अवसरले उनको भविष्य निर्माणमा निर्णायक भूमिका खेलेको उनले बताएका छन्।
कार्कीका अनुसार छात्रवृत्तिले केवल आर्थिक सहयोग मात्र गरेन, आफ्नो क्षमताप्रति आत्मविश्वास पनि बढायो। भारतमा अध्ययनका क्रममा विभिन्न संस्कृति, प्रविधि, नेतृत्व विकास र नवप्रवर्तनका अवसरहरूसँग परिचित हुँदा उनको सोचको दायरा फराकिलो भएको थियो।
अध्ययन पूरा गरेपछि उनले सर्वप्रथम ‘PipeISO’ नामक इन्जिनियरिङ सफ्टवेयर कम्पनी स्थापना गरे। त्यसपछि भारतीय उद्यमी भाभिन पटेलसँग मिलेर LenDenClub स्थापना गरे, जुन आज भारतका लाखौं ग्राहकलाई सेवा प्रदान गर्ने प्रमुख डिजिटल ऋण प्लेटफर्मका रूपमा स्थापित भएको छ भने कम्पनीले ३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
बाल्यकालमा गाउँमा देखेको विश्वासमा आधारित ऋण लेनदेनको संस्कृतिबाट प्रेरित भएर आधुनिक प्रविधिमार्फत त्यसै अवधारणालाई ठूलो स्तरमा विस्तार गर्ने सोचबाट LenDenClub को जन्म भएको कार्कीले बताए। उनका अनुसार वित्तीय पहुँचबाट वञ्चित समुदायलाई अवसर उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य हो।
भविष्यका COMPEX छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई सन्देश दिँदै कार्कीले डिग्री प्राप्तिमा मात्र सीमित नहुन, नयाँ विचार, अनुभव, सम्बन्ध र अवसरहरूको खोजी गर्न आग्रह गरेका छन्। नेपालमा नवप्रवर्तन, अनुसन्धान र उद्यमशीलताको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले युवाहरूलाई विश्वस्तरका आविष्कारक र उद्यमी बन्न प्रेरित गरेका छन्।


























































