काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन् ।
सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका हुन्। उनले कार्यदलले अहिले सुझाव संकलन गर्ने काम गरिरहेको भन्दै कार्यदलको सुझावको आधारमा पार्टी पुनर्गठन हुने धारणा राखेका छन् ।
एकताबद्ध बनाउनका लागि पार्टीमा शुद्धिकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेकाले तीनवटै काम गर्नका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गर्ने उनको भनाई छ ।
महासचिव पोखरेलले पार्टी पुनर्गठन गर्ने निर्णय औपचारिक संस्थागत भएको र कार्यदल समेत कुनै निष्कर्षमा नपुगेकाले अहिले एमालेभित्र विवाद र समस्या देखाउने काम उचित नभएको उल्लेख गरेका छन्। कार्यदलको निष्कर्षपछि पार्टी थप एकताबद्ध सबल र सुदृढका साथै जनतासँग टुटेको सम्बन्धलाई जोड्ने कुरामा सफल हुने उनले बताएका छन्।
त्यस्तै महासचिव पोखरेलले सरकार अविच्छिन्न उत्तराधिकार संस्था हो भन्ने मान्यताको खिलाफमा पुरानो सरकारले गरेका कामहरूबाट अलग गरेर नयाँ यात्रा थाल्ने भन्ने बिषय संसदीय प्रणालीभन्दा बाहिरको गतिविधि भएको तर्क राखेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल सुदृढ बनाउने कुरामा असहमति नभएको भन्दै त्यसलाई कमजोर बनाउने कुरा भने स्वीकार्य हुन नसक्ने बताएका छन्।


























































