काठमाडौं –  फिफा विश्वकप–२०२६ को सुरुवाती चरणमै एसियाली टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै विश्व फुटबलमा आफ्नो बढ्दो प्रभाव देखाएका छन्। परम्परागत रूपमा युरोप र दक्षिण अमेरिकाका टोलीहरूको वर्चस्व रहेको प्रतियोगितामा यसपटक एसियाली राष्ट्रहरूले बलिया प्रतिद्वन्द्वीलाई कडा चुनौती दिएका छन्।


ADVERTISEMENT


आइतबार भएको खेलमा कतारले फिफा वरीयतामा आफूभन्दा निकै माथि रहेको स्विट्जरल्याण्डलाई बराबरीमा रोक्दै सबैको ध्यान तानेको छ। खेलको अधिकांश समय पछि परेको कतारले अन्तिम समयमा गोल फर्काएर महत्वपूर्ण अंक बटुल्न सफल भयो। विश्वकप इतिहास र अनुभवका आधारमा स्विट्जरल्याण्डलाई बलियो मानिए पनि कतारले मैदानमा उत्कृष्ट संघर्ष प्रस्तुत गर्‍यो।


ADVERTISEMENT

# # #


त्यस्तै जापानले पनि युरोपेली शक्तिशाली टोली नेदरल्याण्ड्ससँग अंक बाँड्दै आफ्नो क्षमता प्रमाणित गरेको छ। दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गर्दा अस्ट्रेलियाले टर्कीमाथि सहज जित निकाल्दै एसियाली टोलीहरूको सफल अभियानलाई निरन्तरता दिएको छ।

हालसम्म पहिलो खेल खेलिसकेका चार एसियाली टोलीमध्ये कुनै पनि पराजित भएका छैनन्। यसले विश्वकपमा एसियाली फुटबलको स्तर निरन्तर उकासिँदै गएको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

विश्वकपमा एसियाली राष्ट्रहरूको इतिहास हेर्दा पछिल्ला दुई दशकमा उल्लेखनीय सुधार देखिएको छ। सन् २००२ मा दक्षिण कोरिया सेमिफाइनलसम्म पुग्नु, सन् २०२२ मा साउदी अरेबियाले अर्जेन्टिनालाई हराउनु तथा जापानले समूह चरणमा स्पेन र जर्मनीलाई पराजित गर्नु जस्ता उपलब्धिले एसियाली फुटबलको उचाइ बढाएको छ।

यसपटक पनि सुरुवाती प्रदर्शनले एसियाली टोलीहरू केवल सहभागितामै सीमित नरही प्रतिस्पर्धी शक्ति बनेको सन्देश दिएको छ। समूह चरणका आगामी खेलहरूमा यस्तै प्रदर्शन कायम राख्न सके एसियाली राष्ट्रहरूले विश्वकपमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।