काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपालको यातायात क्षेत्र अहिले पनि विभिन्न संरचनागत समस्या र चुनौतीका बीच सञ्चालन भइरहेको बताएका छन्।


ADVERTISEMENT


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कमजोर सडक पूर्वाधार, नीतिगत जटिलता तथा बाह्य प्रतिस्पर्धाका कारण नेपाली यातायात व्यवसायीहरू कठिन अवस्थामा रहेको उल्लेख गरेका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार रेल तथा जलमार्गजस्ता वैकल्पिक यातायात प्रणाली पर्याप्त रूपमा विकसित नभएकाले मुलुकको सम्पूर्ण ढुवानी तथा सेवा प्रणाली अझै पनि सडक यातायातमै निर्भर छ। यस्तो अवस्थामा सार्वजनिक यातायात, ट्रक तथा मालवाहक सवारी नै जनताको जीवन र अर्थतन्त्रको मुख्य आधार बनेको उनले बताएका छन्।
बानियाँले छिमेकी मुलुकका सवारीसाधनहरूको सहज प्रवेश र ढुवानी सेवामा बढ्दो सहभागिताले स्वदेशी व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गर्दै राज्यले यस विषयमा स्पष्ट नीति र संरक्षणात्मक व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए।

सो अवसरमा उनले हालै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै हार्दिक स्वागत गरे। उनले नयाँ नेतृत्वले यातायात व्यवसायीहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
बानियाँले यातायात व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएका समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

यसैबीच उनले बागमती प्रदेश सरकारले यातायात क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटलीकरणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जानकारी दिएका छन्।

उनका अनुसार रोड परमिट, नवीकरण, कर भुक्तानीलगायतका सेवाहरूलाई पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ, जसबाट सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ।

बानियाँले बागमती प्रदेश सरकारले यातायात क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्दै सुधारका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। उनका अनुसार प्रदेश सरकार यातायात व्यवसायी, श्रमिक तथा सेवाग्राही सबैको हितलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम कार्यान्वयन गर्न तयार छ।

डिजिटल प्रणाली लागू भएपछि सेवा प्रवाह छरितो, सहज र पारदर्शी बन्ने विश्वास व्यक्त गर्दै उनले यातायात क्षेत्रको सुधारले प्रदेशको आर्थिक गतिविधि र सेवा प्रणालीलाई थप मजबुत बनाउने बताएका छन्।