काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड फिफा विश्वकप २०२६ को नेपाल प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजकको रूपमा जोडिएको छ। यस सहकार्यसँगै विश्वकपका खेलहरू हिमालय स्पोर्ट्स टेलिभिजन र DIGO एपमार्फत प्रसारण हुँदा नेपाल लाइफको ब्राण्ड पनि दर्शकमाझ प्रस्तुत हुनेछ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले विश्वकै सबैभन्दा लोकप्रिय खेल महोत्सव फिफा विश्वकपसँग सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको बताएका छन्। उनले विश्वकपले खेलकुदमार्फत विश्वभरका मानिसलाई एकताबद्ध गर्ने उल्लेख गर्दै यस ऐतिहासिक प्रतियोगितासँग आफ्नो उपस्थिति जोड्नु नेपाल लाइफका लागि गर्वको विषय भएको बताए।
उनका अनुसार यस सहकार्यले नेपाली दर्शकलाई विश्वकपको रोमाञ्च अझ नजिकबाट अनुभव गराउन सहयोग पुग्नेछ भने नेपाल लाइफको ब्राण्डलाई देशभरका खेलप्रेमीमाझ थप सशक्त रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
हिमालय स्पोर्ट्ससँगको सहकार्यमार्फत नेपाल लाइफले विश्वकपको उत्साहमा सहभागी हुँदै खेलकुद र मनोरञ्जन क्षेत्रसँग आफ्नो सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। फिफा विश्वकप २०२६ विश्वभरका अर्बौं दर्शकको आकर्षणको केन्द्र बनेको अवस्थामा नेपालमा यसको प्रसारणलाई अझ प्रभावकारी र व्यापक बनाउन यो सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।



























































