काठमाडौं-  नेपाली कांग्रेसका नेता नैनसिंह महर ले वर्तमान सरकार कानुनी राज्यको मर्म विपरीत अभ्यासमा संलग्न भएको आरोप लगाएका छन्।


ADVERTISEMENT


नेपाल वैदेशिक रोजगार व्यवसायी संघको १३औँ साधारण सभालाई सम्बोधन गर्दै महरले सरकारले लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थाको उपहास गर्ने गतिविधि बढाएको भन्दै सबै पक्षलाई सजग रहन आग्रह गरे।


ADVERTISEMENT

# # #


उनले विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धानिरहेका लाखौं नेपाली श्रमिकको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकार व्यवसायी क्षेत्रलाई कमजोर पार्ने दिशातर्फ उन्मुख भएको टिप्पणी गरे।

महरले भने, “प्रत्येक रेमिट्यान्सको पछाडि एउटा परिवारको सपना, आमाको प्रतीक्षा र बालबालिकाको भविष्य जोडिएको हुन्छ। त्यसैले श्रमिकको सम्मान र उनीहरूको अधिकारको संरक्षण हाम्रो साझा दायित्व हो।”

कार्यक्रममा उनले लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए। उनले जनआन्दोलनबाट स्थापित संस्थामाथि आघात पुर्‍याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।

उनका अनुसार यदि कुनै शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक तथा संवैधानिक संरचनालाई कमजोर बनाउने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै एकजुट भएर प्रतिरोध गर्न आवश्यक छ।

कार्यक्रममा वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा विदेशबाट प्राप्त पूँजी, सीप र अनुभवलाई राष्ट्रिय समृद्धिसँग जोड्न सहकार्य आवश्यक रहेकोमा पनि जोड दिइएको थियो।

यस अवसरमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ ले वैदेशिक रोजगार क्षेत्रका समस्या, नीति सुधार र श्रमिक हितका विषयमा छलफल गरेको जनाएको छ।