काठमाडौं – चितवन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सफलता र नेपालको राजनीतिक स्थिरताका लागि कांग्रेस सधैं सकारात्मक रहने बताएका छन्।
आइतबार रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले विगतमा ठूला दलहरू सम्हालिन नसक्दा लोकतन्त्र, प्रणाली र जनताले ठूलो मूल्य चुकाउनुपरेको स्मरण गरेका थिए। उनले रास्वपाले प्राप्त गरेको जनमतलाई स्थिरता र सुशासनतर्फ अघि बढाउन आग्रह गर्दै कांग्रेस र रास्वपा राजनीतिक प्रतिस्पर्धी भए पनि दुश्मन नरहेको स्पष्ट पारेका छन्।
सभापति थापाले प्रतिपक्षमा रहेर कांग्रेसले आवश्यक ठाउँमा प्रश्न उठाउने तर राम्रो कामको समर्थन गर्ने नीति लिएको बताएका छन्। उनले रास्वपाले सुशासनलाई मूल मन्त्र बनाएकोमा खुशी व्यक्त गर्दै आफ्नै दलभित्र पनि नेताहरूलाई ‘भगवान्’ वा ‘बा’ नबनाउन र निरन्तर प्रश्न गर्ने संस्कृतिको विकास गर्न सुझाव दिएका छन्।उनले विगत ३५ वर्षमा केही पनि नभएको भन्दै इतिहासलाई पूर्ण रूपमा अस्वीकार नगर्न आग्रह गरेका छन्।
लोकतान्त्रिक आन्दोलनका क्रममा भएका बलिदान र उपलब्धिलाई बिर्सन नहुने उनको भनाई छ।
सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमतालाई देशका मुख्य दुश्मनको रूपमा चित्रण गर्दै ती समस्याविरुद्धको लडाइँमा कांग्रेस सँगै उभिने बताएका छन्। साथै, विधि र प्रक्रियामा कमजोरी देखिएमा खबरदारी र प्रश्न उठाइरहने धारणा पनि व्यक्त गरेका छन्।



























































