काठमाडौं – नेपाली फेसन तथा मोडलिङ क्षेत्रका चर्चित युवा कोरियोग्राफर गौरव सिटौला का भाइ सौरभ सिटौला र आर्याना सिंहले यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ भोल्युम ५०’ को उपाधि जितेका छन्।
एभरेष्ट इभेन्ट्स को आयोजनामा तथा भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसन को सहकार्यमा सम्पन्न प्रतियोगितामा दुवै विजेताले उत्कृष्ट प्रस्तुति, आत्मविश्वास र व्यक्तित्वका आधारमा निर्णायक मण्डलको उच्च मूल्यांकन प्राप्त गरेका हुन्।
प्रतियोगिता एसईई उत्तीर्ण विद्यार्थीहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ। देशभरबाट छनोट भएका प्रतिस्पर्धीहरूबीच विभिन्न चरणमा प्रतिस्पर्धा गराइएको थियो, जसमा र्याम्प वाक, ट्यालेन्ट राउन्ड, प्रश्नोत्तर तथा व्यक्तित्व परीक्षण समावेश थिए।
फाइनल चरणमा सौरभ सिटौला र आर्याना सिंहले सन्तुलित प्रस्तुति, आत्मविश्वासपूर्ण अभिव्यक्ति र स्टेज प्रेजेन्समार्फत निर्णायकहरूको मन जित्दै शीर्ष उपाधि हात पारेका हुन्। उनीहरूले उपाधिसँगै ट्रफी, प्रमाणपत्र तथा आगामी मोडलिङ अवसरहरू समेत प्राप्त गरेका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले युवा पुस्तालाई कला, फेसन र व्यक्तित्व विकासको क्षेत्रमा अघि बढ्न प्रेरणा दिने उद्देश्य राखेको छ। कार्यक्रममा फेसन उद्योगसँग सम्बन्धित व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताको यो पाँचौं संस्करण सफलतापूर्वक सम्पन्न भएसँगै आयोजकले आगामी संस्करणलाई अझ व्यापक र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने योजना रहेको बताएका छन्।



























































