काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई सोमबार सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको हो।


ADVERTISEMENT


स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि केही समयदेखि आर्थिक कारोबार तथा सम्पत्ति स्रोतबारे अनुसन्धान गरिरहेको थियो। सोही अनुसन्धानका क्रममा विभागको अनुरोधमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।


ADVERTISEMENT

# # #


पक्राउपछि पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको स्रोतको दाबी छ। विभागले उनीसँग सम्बन्धित आर्थिक गतिविधि, सम्पत्ति आर्जनका स्रोत तथा वित्तीय कारोबारबारे विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।

पौडेलको पक्राउसँगै नेपाली राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ। सत्तापक्ष र प्रतिपक्ष दुवै वृत्तमा घटनालाई चासोका साथ हेरिएको छ भने एमालेका नेताहरूले यस विषयमा औपचारिक प्रतिक्रिया दिन बाँकी रहेको बताएका छन्।

यद्यपि, गृह मन्त्रालय, नेपाल प्रहरी तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घटनाबारे औपचारिक विज्ञप्ति जारी गरिसकेका छैनन्। साथै, पौडेल वा उनको सचिवालयबाट पनि तत्काल कुनै प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा मुलुकका उच्च राजनीतिक नेतृत्वमाथि अनुसन्धान अघि बढेको यो घटनाले आगामी दिनमा नेपाली राजनीतिमा थप बहस र चर्चा सिर्जना गर्ने अनुमान गरिएको छ।