काठमाडौं – हुलाक सेवा विभागले नेपालको पहिलो आधुनिक पुस्तकालय तथा पुस्तकालय आन्दोलनकी संस्थापक शान्ति मिश्रको तस्बिर अंकित नयाँ हुलाक टिकट प्रचलनमा ल्याएको छ।
मंगलबार विभागमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले उक्त हुलाक टिकट सार्वजनिक गर्दै प्रचलनमा ल्याएकी हुन्।
कार्यक्रममा वक्ताहरूले शान्ति मिश्रले नेपालमा पुस्तकालयको विकास र पठन संस्कृतिको प्रवर्द्धनमा पुर्याएको योगदानको स्मरण गरेका थिए। उनी नेपालको आधुनिक पुस्तकालय स्थापनाको अग्रणी व्यक्तित्वका रूपमा परिचित छन्।
हुलाक सेवा विभागले राष्ट्रिय इतिहास, संस्कृति तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गर्दै आएको छ। सोही अभियानअन्तर्गत शान्ति मिश्रको योगदानलाई सम्मान गर्दै नयाँ हुलाक टिकट जारी गरिएको विभागले जनाएको छ।
विभागका अनुसार नयाँ टिकटले भावी पुस्तालाई शान्ति मिश्रको योगदानबारे जानकारी गराउन र पुस्तकालय तथा अध्ययन संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



























































