काठमाडौं- शिक्षा मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले नतिजामा त्रुटि र लापरवाही भएको भन्ने आरोप केवल प्रचारबाजी मात्र भएको बताएका हुन्।
उनले शिक्षकहरूलाई जिम्मेवार बनाइएकाले ग्रेड प्रतिशत बढेको र छिटो नतिजा प्रकाशन गर्न सफलता मिलेको बताए। मन्त्रालयले नतिजाको विषयमा अध्ययन गर्दा कुनै त्रुटि नभेटिएको र निष्पक्ष रूपमा उत्तरपुस्तिका परीक्षण गरिएको उनको भनाइ छ।
सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयमा हाल करिब १४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विदेशी विद्यार्थीको भिसा सहजीकरणका लागि गृह मन्त्रालयसँग छलफल भइरहेको बताए। साथै, चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउने विषयमा पनि सरकारले नीतिगत तयारी गरिरहेको जानकारी दिए।
उनले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सके नेपाली विद्यार्थी विदेश पलायन हुने क्रम घट्ने विश्वास व्यक्त गरे।



























































