काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकार प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा पूर्ण क्षमताका साथ खटिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत विस्तृत जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम र जटिल भूगोलका बाबजुद हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्रीका अनुसार उद्धार तथा राहतका लागि हालसम्म ३९४ उडान भइसकेका छन् भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ।
बाढीबाट ७८१ जनाको शव फेला परेको र घाइतेमध्ये २६७ जनाको उद्धार गरी उपचार भइरहेको प्रधानमन्त्रीले बताएका छन्। नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ लगायतका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा चिनियाँ, भारतीय र कोरियन विशेषज्ञ टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। साथै, प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भइरहेको र भारत, चीन, अमेरिका, एडीबी, विश्व बैंकलगायतबाट मानवीय तथा आर्थिक सहयोग प्राप्त भइरहेको बताएका छन्।
उनले विपद्को कठिन अवस्थामा सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको भन्दै उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।































































