काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री सरकारलाई हस्तान्तरण गरेको छ।


ADVERTISEMENT


चेम्बरका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का सभापति दीपकुमार मल्होत्राको नेतृत्वमा चेम्बर प्रतिनिधिहरूले काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्। चेम्बरले संकलन गरेको सामग्री जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको जनाएको छ।


ADVERTISEMENT

# # #


राहत सामग्रीमा रेडिमेड सर्ट, चिउरा, विभिन्न प्रकारका बिस्कुट, सेनेटरी प्याड, टुथपेस्ट, टुथब्रस, पञ्जा, मास्क, टिसर्ट, दाललगायतका सामग्री रहेका छन्। साथै, चेम्बर र लायन्स डिस्ट्रिक्ट काउन्सिल ३२५ नेपालले सहकार्य गरी खानेपानी, चाउचाउ, बिस्कुट, साबुन, डायपर, औषधि, चामल, कपडा र ब्ल्याङ्केटलगायतका सामग्रीसमेत उपलब्ध गराएका छन्।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि चेम्बरले राहत संकलन तथा वितरणसँगै उद्धार र सुरक्षा व्यवस्थापनमा समेत सहयोग गर्दै आएको जनाएको छ। यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ वटा ड्रोन तथा विदुर नगरपालिकालाई २ वटा ड्रोन र १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो।

त्यस्तै, तत्काल राहतमा जुट्न प्रभावित जिल्लाका जिल्ला चेम्बरहरूलाई नगद सहयोग उपलब्ध गराउनुका साथै भारतबाट ५०० थान सोलार पावर बैंक मगाउने प्रक्रिया अघि बढाएको चेम्बरले जनाएको छ।

चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सरकारसँग सहकार्यमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।