काठमाडौं – ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । तीन खेलमा ब्राजिलको अङ्क ७ रहेको छ ।
समान ७ अङ्क रहेको मोरक्को हेड टु हेडअनुसार उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । एटलान्टा स्टेडियममा भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई गोल गरेका छन् । सोही खेलमा मथेउस कुन्हाले एक गोल थपेका हुन् । भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै ब्राजिलाई पहिलो अग्रता दिलाएका थिए । त्यसैगरी भिनिसियसले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाएको हो ।
खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गर्दै बाज्रिलको अग्रता तेब्बर बनाएका हुन् । त्यसपछि खेलमा थप गोल हुन नसकेन पछि ब्राजिलको जित सुनिश्चित भएको छ । यससँगै समूह सी बाट स्कटल्यान्ड र हाइटी विश्वककपबाट बाहिरिएका छन् ।



























































