काठमाडौं – भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा आज गृहसचिवलाई भेटी सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ।
भेटका क्रममा पूर्वसांसद खतिवडाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई जुनसुकै अवस्थामा रहेका भए पनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरे।
सो क्रममा गृहसचिवले सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारका लागि टोली परिचालन भइरहेको र केही व्यक्तिहरू हाल सुरुङ (टनेल) भित्र रहेको जानकारी प्राप्त भएको बताए। साथै, विपत्तिमा प्रभावित नागरिकका लागि राहत सामग्री व्यवस्थापन तथा वितरणमा विशेष प्राथमिकता दिइएको जानकारीसमेत गराए।
विपद्को यस कठिन घडीमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र पीडित परिवारलाई आवश्यक राहत तथा सूचना उपलब्ध गराउन सरकारलाई थप प्रभावकारी रूपमा काम गर्न आग्रह गरिएको छ।
भेटमा कोशी प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री प्रदीप सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, नेता बालकृष्ण दाहाल, नेपाली कांग्रेस पार्टी सचिव अजय लुइटेल लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
सम्पर्कविहीन सबै नागरिकको सकुशल खोज तथा उद्धार होस्। विपत्तिमा परेका नागरिकको जीवनरक्षा र राहतमा कुनै कमी हुन नदिन सरकारको निरन्तर ध्यानाकर्षण गराइएको छ।































































