चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेतृ तथा कानुनमन्त्री सोविता गौतमले शासकीय स्वरूप सम्बन्धी पार्टीले अघि सारेको प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भइसकेको बताएकी छन्।


ADVERTISEMENT


बिहीबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपको विषय संविधान संशोधनसँग समेत जोडिएकाले यसमा व्यापक बहस र छलफल आवश्यक रहेको बताइन्। उनले रास्वपाले अघि सारेको प्रस्तावबारे विभिन्न दलहरूसँग प्रारम्भिक तहमा संवाद सुरु भएको जानकारी दिइन्।


ADVERTISEMENT

# # #


रास्वपाले प्रदेश सभा खारेजी तथा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय प्रणालीको प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावमाथि राजनीतिक दलहरूबीच सहमति निर्माणका लागि थप छलफल आवश्यक रहेको गौतमको भनाइ छ।

उनले पार्टीले प्रस्तुत गरेको अवधारणामाथि गहन बहसपछि कहाँसम्म सहमति जुट्न सक्छ भन्ने विषय महत्त्वपूर्ण हुने उल्लेख गरिन्।

महाधिवेशनका कार्यक्रमबारे बोल्दै गौतमले तीन दिनका लागि तय गरिएको महाधिवेशन केही लम्बिएकाले पदाधिकारीको निर्वाचन सम्पन्न भएपछि बिहीबार नै महाधिवेशन समापन गर्ने तयारी रहेको जानकारी दिइन्।

गौतमले रास्वपाको पहिलो महाधिवेशन भएकाले देखिएका कमी–कमजोरीलाई सिकाइका रूपमा लिएर पार्टी अगाडि बढ्ने बताइन्। साथै, दोस्रो चरणको निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने संकेत गर्दै उम्मेदवारी दर्तापछि मात्र कुन पदमा प्रतिस्पर्धा गर्ने भन्ने जानकारी सार्वजनिक गर्ने बताइन्।