काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि फेला परेका शवको संख्या ४८९ पुगेको छ। नेपाल प्रहरीले दिएको पछिल्लो विवरणअनुसार तीमध्ये ३९३ शवको अझै पहिचान हुन सकेको छैन।
बाढीपछि रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा र नवलपरासीका विभिन्न स्थानमा शव फेला परेका छन्। नदीको बहावसँगै टाढाटाढाका क्षेत्रमा समेत शव भेटिएपछि खोजी तथा उद्धार टोलीले नदी किनार र प्रभावित क्षेत्रमा निगरानी बढाएको छ।
प्रहरीका अनुसार फेला परेका शवलाई पहिचान तथा व्यवस्थापनका लागि काठमाडौं, पोखरा, पाल्पा, रुपन्देही र कपिलवस्तु लगायतका स्थानमा राखिएको छ।
पहिचान हुन नसकेका शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ। आफन्तहरूबाट प्राप्त विवरण र अन्य माध्यमबाट पहिचान गर्ने प्रयास भइरहेको छ।
विनाशकारी बाढीपछि अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ। नदी तथा आसपासका क्षेत्रमा शव खोज्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
बाढीले ठूलो मानवीय क्षति पुर्याएपछि आफन्तको खोजीमा रहेका परिवारहरू आफ्ना प्रियजनको पहिचानको पर्खाइमा छन्।































































