काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा अलपत्र परेका ११७ जना पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ, ९ जना कोरियाली, २ जना अमेरिकी र २ जना इटालियन पर्यटक रहेका छन्। उनीहरूलाई जोखिमयुक्त क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको हो।
तर बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ। सम्पर्कविहीन पर्यटकहरू रसुवाका विभिन्न क्षेत्रमा रहेको हुनसक्ने भएकाले उनीहरूको अवस्था पत्ता लगाउन खोजी अभियानलाई तीव्र पारिएको छ।
सडक तथा पुलमा बाढीले क्षति पुर्याएका कारण केही प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न समेत कठिनाइ भइरहेको छ। सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच समन्वय गरी सम्पर्कविहीन पर्यटकको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको छ।
पर्यटकको विवरण संकलन गर्ने, परिवार तथा सम्बन्धित निकायसँग सम्पर्क स्थापित गर्ने र उद्धार गरिएकालाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने कामसमेत भइरहेको छ।
११७ पर्यटकको उद्धार भए पनि ६ सयभन्दा बढी अझै सम्पर्कविहीन रहँदा रसुवाको बाढी संकटमा पर्यटक उद्धार मुख्य चुनौती बनेको छ।































































