काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य आवश्यक रहेको बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने बताएका छन्।
उनले राजनीतिक स्थायित्व र उपलब्धिहरूको संरक्षणका लागि सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै, एक समय झण्डै दुईतिहाइ बहुमत प्राप्त कम्युनिस्ट शक्ति किन कमजोर बन्यो भन्ने विषयमा आत्ममूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन्। साथै, कम्युनिस्ट आन्दोलनमा देखिएका विकृति र विसङ्गतिबारे पनि आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ छ।
कार्यक्रममा उनले जननेता मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै उनका विचार र मार्गदर्शनलाई अघि बढाउनुपर्ने बताएका छन्। कार्यक्रममा मदन भण्डारीले अघि सारेको बहुदलीय जनवाद, नेपाली कम्युनिस्ट आन्दोलन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको छ।



























































