काठमाडौं –  नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट शक्तिबीच सहकार्य र एकता अपरिहार्य रहेको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई विभाजन र अविश्वासबाट जोगाउन आपसी समझदारी, सहकार्य र साझा राजनीतिक दृष्टिकोण आवश्यक रहेको बताए।


ADVERTISEMENT


उनले कम्युनिस्ट शक्तिहरूबीच सहकार्य हुन नसके राजनीतिक रूपमा गम्भीर परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिँदै विभाजनले जनतामा निराशा बढ्ने र आन्दोलन कमजोर बन्ने धारणा राखेका छन्। जनताले देशमा समाजवादको यात्रालाई अघि बढाउन कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको उल्लेख गर्दै उनले मिल्नुको विकल्प नरहेको बताएका छन्।


ADVERTISEMENT

# # #


प्रचण्डले संविधानमाथि विभिन्न कोणबाट दबाब र चुनौती देखिएको दाबी गर्दै लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्न कम्युनिस्ट शक्तिमात्र होइन, कांग्रेस तथा मधेशवादी दललगायत लोकतान्त्रिक शक्तिहरूबीच पनि आवश्यक सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। प्रतिक्रियावादी शक्तिहरू संविधान र परिवर्तनका उपलब्धिविरुद्ध सक्रिय रहेको उनको आरोप थियो।

उनले जननेता मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै उनले अघि सारेका विचार, सिद्धान्त र जनमुखी राजनीतिक अभ्यास आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन्। भण्डारीका विचारलाई व्यवहारमा उतार्दै राष्ट्रिय एकता, राजनीतिक स्थिरता र समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रममा मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद, नेपाली कम्युनिस्ट आन्दोलनको विकासक्रम तथा समसामयिक राजनीतिक विषयमा समेत व्यापक छलफल गरिएको छ।