काठमाडौं- नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित नेपाल शैक्षिक परामर्श संघ इक्यान र नेपाल अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ आइप्यान बीच रणनीतिक समझदारीपत्र मा हस्ताक्षर भएको छ।
समझदारीपत्रअनुसार ‘नेपालमा अध्ययन’ अभियानलाई संयुक्त रूपमा अघि बढाउँदै उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्न दुवै संस्थाले सहकार्य गर्ने भएका छन्।
इक्यानले विगत तीन दशकदेखि नेपाली विद्यार्थीलाई सुरक्षित, पारदर्शी, नैतिक तथा गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। आइप्यानले भने नेपालमै अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउने, अनुसन्धान, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तारमा काम गर्दै आएको जनाएको छ।
समझदारीपत्रपछि इक्यानका सदस्य संस्थाले आइप्यानसँग आबद्ध कलेज तथा शैक्षिक संस्थाका अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, प्रवेश मापदण्ड, छात्रवृत्ति, रोजगारीका सम्भावना तथा अन्य शैक्षिक जानकारी प्रत्यक्ष रूपमा प्राप्त गर्नेछन्। यसबाट विद्यार्थी र अभिभावकले थप विश्वसनीय, अद्यावधिक र गुणस्तरीय शैक्षिक परामर्श सेवा पाउने अपेक्षा गरिएको छ।
दुवै संस्थाले ‘नेपालमा अध्ययन’ अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने, अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्ने, शैक्षिक पहिचान अभिवृद्धि, अनुसन्धान, अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक कूटनीति सुदृढ बनाउने सहमति गरेका छन्।
यसैगरी दुवै संस्थाले क्षमता अभिवृद्धि, अन्तरक्रिया, अनुसन्धान, नीति संवाद, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपमा कमजोर, जेहेन्दार र अवसरबाट वञ्चित विद्यार्थीलाई छात्रवृत्ति तथा विशेष शैक्षिक अवसर उपलब्ध गराउन समेत सहकार्य गर्ने भएका छन्।
समझदारीपत्रले नेपालको उच्च शिक्षा क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै ‘नेपालमा अध्ययन’ अभियानलाई राष्ट्रिय अभियानका रूपमा अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।



























































