काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।


ADVERTISEMENT


सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार म्याद थपका लागि पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले विभागको मागअनुसार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।


ADVERTISEMENT

# # #


यसअघि विभागको अनुरोधमा प्रहरीले असार ८ गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। विशेष अदालतले पहिलो चरणमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि सकिएपछि विभागले थप अनुसन्धान आवश्यक रहेको भन्दै पुनः म्याद थपको माग गरेको थियो, जसलाई अदालतले स्वीकृत गरेको हो।

अदालतको आदेशपछि पौडेललाई पुनः न्यायिक हिरासतमा पठाइएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेट म्यानेजमेन्ट प्रालिले खरिद गरेको विषयमा भइरहेको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरिएको हो। विभागले आर्थिक कारोबार, शेयर खरिद प्रक्रिया तथा सम्पत्तिको स्रोतबारे विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।