काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित बजेट ल्याएको बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री वाग्लेले अहिलेको घोषित बजेटको आकार प्रक्षेपित अर्थतन्त्रको आकारको अनुपातमा २८ दशमलव ५ प्रतिशत मात्रै भएको बताए। जुन पछिल्लो १२ बर्षमा भन्दा सानो बजेट भएको उनले बताएका छन् ।
मन्त्री वाग्लेले बजेट कार्यान्वयनका बिषयमा कुनै आशंका नगर्न आग्रह समेत गरेका छन् । मन्त्री वाग्लेले बजेटका लागि बिभिन्न मन्त्रालयमा फाइल घुमाउनुपर्ने अवस्थाको अन्त्य गर्दै रकमान्तरदेखि धेरै कुराहरूमा अर्थ मन्त्रालयको तस्बीजी अधिकार सम्बन्धीत मन्त्रालयलाई नै दिइएको स्पष्ट पारेका छन् ।
त्यस्तै उनले बजेटमा आमनागरिकको हितका लागि शिक्षा, स्वास्थ्य र विद्युत्मा केही मात्रामा कर लगाइएको स्पष्ट पारेका छन् । सरकारले महत्वाकांक्षी आर्थिक विकासको लक्ष्यअनुसार बजेट ल्याएको उनको भनाई छ ।
बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक असार १७ गते बोलाइएको छ ।



























































