काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम) बाट ग्राहकको निक्षेप सुरक्षित राख्न ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमार्फत लगइन नगरी नै सेकेन्डभरमा खाता रोक्का (ब्लक) गर्न सकिने नयाँ सुरक्षा सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार कुनै पनि अनधिकृत पहुँच, वित्तीय ठगी वा खाता ह्याक भएको आशंका लागेमा ग्राहकले एपमा पासवर्ड वा बायोमेट्रिक प्रयोग गरेर लगइन नगरी नै खाता तत्काल ब्लक गर्न सक्नेछन्। एप खोल्नेबित्तिकै माथिल्लो दायाँ कुनामा रहेको Call Sign मा क्लिक गरी Missed Call Banking अन्तर्गत Account Block by Missed Call विकल्प चयन गरेपछि खाता तुरुन्त रोक्का हुनेछ।
यसका साथै ग्राहकले ग्लोबल कनेक्ट को आधिकारिक नम्बर ०१–५९७०६०० (अन्तर्राष्ट्रिय कलका लागि +९७७–१–५९७०६००) मा फोन गरेर मौखिक अनुरोधमार्फत पनि खाता ब्लक गराउन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार पछिल्लो समय डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएकाले ग्राहकको बचत सुरक्षित राख्ने उद्देश्यले यो ‘फ्रड रेजिलियन्ट’ सुरक्षा प्रणाली लागू गरिएको हो। बैंकिङ क्षेत्रका विज्ञहरूले पनि यस प्रविधिले फिसिङ तथा स्क्याममार्फत हुने आर्थिक अपराध नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्ने बताएका छन्।
यसैबीच, नेपाल राष्ट्र बैंकले पनि ग्राहकको मौखिक वा अनलाइन अनुरोधका आधारमा तत्काल खाता रोक्का गर्ने व्यवस्था मिलाउन सबै वाणिज्य बैंकलाई हालै निर्देशन जारी गरेको छ। ग्लोबल आइएमई बैंकले उक्त व्यवस्थालाई व्यवहारमै कार्यान्वयन गर्दै ग्राहक सुरक्षालाई थप सुदृढ बनाएको जनाएको छ।
हाल ग्लोबल आइएमई बैंकले देशभर ७७ जिल्लामा ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै विभिन्न मुलुकबाट सुरक्षित रेमिट्यान्स सेवा प्रवाह गर्दै देशको अर्थतन्त्रमा समेत योगदान पुर्याइरहेको बैंकले जनाएको छ।



























































