काठमाडौं-  नेपाली संगीत क्षेत्रको प्रतिष्ठित समारोह ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो।


ADVERTISEMENT


आयोजकका अनुसार यस वर्षको अवार्ड समारोहमा १४ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। साथै नेपाली गीत–संगीतमा लामो समयदेखि विशिष्ट योगदान पुर्‍याएका एक व्यक्तित्वलाई एक लाख रुपैयाँ राशिसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।


ADVERTISEMENT

# # #


कार्यक्रम केवल अवार्ड वितरणमा सीमित रहने छैन। यसलाई भव्य सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिनेछ, जहाँ जोन एन्ड द लोकल्स, दीपक बज्राचार्य, उज्जन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ लगायत चर्चित कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। हास्य कलाकार प्रभात लामा र कर्मा सिंह लामा ले पनि दर्शकलाई मनोरञ्जन दिनेछन्।

अवार्डमा उत्कृष्ट नव गायकरगायिका, गीतकार, संगीत निर्देशक, लोकदोहोरी गायकरगायिका, पार्श्व गायकरगायिका, पप गायकरगायिका, आधुनिक गायकरगायिका, उत्कृष्ट सांगीतिक समूह तथा हिपहप एवं आर एन्ड बी विधासहित १४ विधामा सम्मान प्रदान गरिनेछ।

कार्यक्रममा दर्शकको सहभागितालाई पनि विशेष महत्व दिइएको छ। ई–सेवामार्फत मतदान गरी सर्वाधिक मत प्राप्त गर्ने गीत वा स्रष्टालाई पिपुल्स च्वाइस अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

यस वर्षका मनोनयनहरू २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरू मध्येबाट छनोट गरिएको हो। तीन सदस्यीय निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट पाँच–पाँच मनोनयन सार्वजनिक गरेको आयोजकले जनाएको छ।

सयभन्दा बढी कलाकारको सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रमले नेपाली संगीत उद्योगका कलाकार, स्रष्टा, निर्माता र संगीतप्रेमीलाई एउटै मञ्चमा जोड्ने विश्वास आयोजकको छ। कान्तिपुर मिडिया ग्रुपका प्रतिनिधिहरूले यो अवार्ड नेपाली संगीतको प्रवर्द्धन, सिर्जनशीलताको सम्मान र नयाँ प्रतिभाको प्रोत्साहनका लागि महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको बताएका छन्।