काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारको पहिलो सय दिन सुशासनको सुरुआत गर्न सफल भएको दाबी गरेको छ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा सांसदहरूको डिजिटल अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारले सुरुदेखि नै सुशासनलाई प्राथमिकतामा राखेको र सय दिनको अवधिमा त्यसको सकारात्मक सुरुआत गर्न सफल भएको बताएका छन्।


ADVERTISEMENT

# # #


उनले यस अवधिमा नागरिकका सरोकारका विषयलाई प्राथमिकतामा राखिएको, भौतिक पूर्वाधार क्षेत्रमा तीन वर्षे कार्ययोजना तयार गरी काम अघि बढाइएको तथा सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र सहज बनाउने प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।

सभापति लामिछानेले असल नियतका साथ काम गर्दा पनि कतिपय प्रक्रियागत कमजोरी हुन सक्ने स्वीकार गर्दै प्राप्त सुझावका आधारमा आगामी दिनमा सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संविधानका विभिन्न विषयमा व्यापक बहस आवश्यक रहेको उल्लेख गर्दै उनले रास्वपाले प्रदेश खारेजीको पक्षमा नभई प्रदेश संरचनालाई अझ प्रभावकारी, कम खर्चिलो र जनमुखी बनाउने पक्षमा रहेको स्पष्ट पारे। यस विषयमा सबै राजनीतिक दलबीच सहमति आवश्यक रहेको उनको भनाइ थियो।

काठमाडौं उपत्यकाका खोला किनारका नागरिकको व्यवस्थापनका विषयमा बोल्दै उनले वास्तविक सुकुम्बासीले जग्गा वा आवास प्राप्त गरेपछि अहिलेको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन्।