काठमाडौं – चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको सूचना प्राप्त भएपछि नेपालतर्फको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारीमार्फत ताल फुटेको सूचना प्राप्त भएको जनाइएको छ। ताल फुटेपछि ठूलो मात्रामा पानी तलतर्फ बग्न सक्ने भएकाले रसुवागढीदेखि भोटेकोशी र त्रिशूली नदी प्रणालीको तटीय क्षेत्रमा रहेका नागरिकलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
यसअघि तिब्बतमा भीषण पहिरोपछि नदी थुनिएर कृत्रिम ताल बनेको थियो। लगातारको वर्षाका कारण तालमा पानीको सतह बढ्दै गएपछि फुट्ने जोखिम बढेको थियो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले भोटेकोशी र त्रिशूली नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ।
रसुवामा वस्तुस्थिति नियन्त्रण तथा समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबराका अनुसार ताल फुटेको सूचना आएपछि उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई समेत तत्काल सुरक्षित स्थानमा जान भनिएको छ।
ताल फुटेसँगै भोटेकोशी र त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।































































