काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले संविधान तथा गणतन्त्रविरुद्धका गतिविधिलाई राजद्रोहसरह अपराधका रूपमा परिभाषित गर्ने सरकारको प्रस्तावप्रति कडा आपत्ति जनाएका छन्।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा राणाले सरकारले मुलुकी अपराध संहिता संशोधनमार्फत गणतन्त्रविरुद्ध गतिविधि गरेमा २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गर्न खोजेको भन्दै त्यसको विरोध गरेका छन्।


ADVERTISEMENT

# # #


उनले यस्तो प्रस्ताव संविधानको मर्म, लोकतान्त्रिक मूल्य–मान्यता तथा अन्तर्राष्ट्रिय अभ्यासविपरीत रहेको दाबी गर्दै विचार र अभिव्यक्तिको स्वतन्त्रतामाथि अंकुश लगाउने कुनै पनि कानुन स्वीकार्य नहुने बताएका छन्।

राणाले सरकारले नागरिकको मौलिक हक तथा मानवअधिकारमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै समयमै सचेत हुन आग्रह गरेका छन्। उनले राष्ट्रवादी तथा राजावादी शक्तिहरूले यस्तो कानुन बन्न नदिने दाबी गर्दै आवश्यक परे २५ वर्षसम्म जेल बस्न पनि आफूहरू तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा उनले आफूले गठन गर्न लागेको नयाँ राजनीतिक दलको विधान, नाम र झण्डा टुंगो लागिसकेको जानकारी दिँदै छिट्टै निर्वाचन आयोगमा दल दर्ता गरिने र त्यसपछि पार्टीको नाम सार्वजनिक गरिने बताएका छन्।