जनकपुरधाम- मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालनमा आएको छ। प्रदेशसभामा अध्ययन, अनुसन्धान र तथ्यमा आधारित संसदीय बहसलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


ADVERTISEMENT


प्रदेशसभा सचिवालयका अनुसार पुस्तकालयमा नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन, संसदीय कार्य सञ्चालनसम्बन्धी दस्तावेज, सार्वजनिक नीति, अर्थतन्त्र, सङ्घीयता, राजनीतिक इतिहास, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण, स्थानीय शासन तथा अन्तरराष्ट्रिय सम्बन्धलगायत विषयका ५०० भन्दा बढी पुस्तक राखिएका छन्।


ADVERTISEMENT

# # #


प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले पुस्तकालय सांसदमा मात्र सीमित नरही कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीका लागि पनि अध्ययन र अनुसन्धानको महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गरेका छन्। उनले प्रदेशसभाका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक तथा अन्य अभिलेखलाई व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना रहेको जानकारी दिएका छन्।

मधेस प्रदेशसभाका सभामुख राम अशिष यादवले पुस्तकालय सञ्चालनसँगै सांसदहरू तथ्य र अध्ययनका आधारमा बहस गर्न थप सक्षम हुने बताएका छन्। उनका अनुसार संसद्भित्र हुने छलफललाई अझ परिपक्व, सन्तुलित र परिणाममुखी बनाउन पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्नेछ।

सभामुख यादवले पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोड्दै निकट भविष्यमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइने पनि जानकारी दिएका छन्। पुस्तक, अभिलेख तथा प्रतिवेदनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गरी अनलाइन खोज प्रणाली र इलेक्ट्रोनिक सन्दर्भ सामग्री उपलब्ध गराउने तयारी भइरहेको उनले बताएका छन्।