काठमाडौं – टिकटकले सन् २०२६ को पहिलो त्रैमासिक ९जनवरी–मार्च० को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै नेपालमा तीन महिनाको अवधिमा १९ लाख ६१ हजार ६९८ वटा भिडियो हटाइएको जनाएको छ।
कम्पनीका अनुसार उक्त अवधिमा नेपालमा प्रकाशित कुल भिडियोमध्ये करिब ०.४ प्रतिशत भिडियो कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै हटाइएको हो। उल्लङ्घनकारी कन्टेन्ट हटाउने सक्रिय दर ९९.२ प्रतिशत रहेको र हटाइएका भिडियोमध्ये ८६ .५ प्रतिशत पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको प्रतिवेदनमा उल्लेख छ। समीक्षा पछि ६१ हजार ९९२ वटा भिडियो पुनःस्थापना गरिएको पनि कम्पनीले जनाएको छ।
विश्वव्यापी रूपमा भने टिकटकले पहिलो त्रैमासिकमा १८४ मिलियनभन्दा बढी भिडियो हटाएको जनाएको छ, जुन प्लेटफर्ममा अपलोड भएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो। तीमध्ये अधिकांश भिडियो स्वचालित प्रविधिमार्फत पहिचान गरी हटाइएको कम्पनीको दाबी छ।
प्रतिवेदनअनुसार यस अवधिमा ८ करोड ६२ लाखभन्दा बढी फेक एकाउन्ट हटाइएको छ भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने २ करोड ५७ लाखभन्दा बढी एकाउन्ट पनि हटाइएको छ।
टिकटकले लाइभ प्रसारणमाथिको निगरानी पनि थप कडा बनाएको जनाएको छ। तीन महिनामा ५ करोड ८२ लाखभन्दा बढी लाइभ सेसन मा चेतावनी वा मनिटाइजेसन बन्द गर्ने कारबाही गरिएको तथा २ करोड १९ लाखभन्दा बढी लाइभ क्रियटर माथि पनि कारबाही गरिएको कम्पनीले जनाएको छ।
टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै कन्टेन्ट मोडेरेसन, पारदर्शिता र प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।



























































