काठमाडौं – विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमी नेपालले काठमाडौंको न्युरोडस्थित ताम्राकार हाउसको छैटौँ तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार नयाँ सर्भिस सेन्टर स्थापनासँगै शाओमीका ग्राहकले स्मार्टफोन, वेयरेबल (स्मार्टवाच तथा फिटनेस ब्यान्ड), हियरएबल (इयरफोन तथा हेडफोन) र विभिन्न आइओटी (IoT) उपकरणको मर्मत, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सर्भिस सेन्टरले शाओमीका मौलिक (जेन्युइन) स्पेयर पार्ट्स प्रयोग गरी गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ।
उक्त सर्भिस सेन्टरको सञ्चालन वत्सल इम्पेक्स प्रालिले गर्नेछ। शारदा ग्रुपअन्तर्गतको वत्सल इम्पेक्स शाओमी ब्रान्डको आधिकारिक सेवा प्रदायक कम्पनी हो।
सर्भिस सेन्टर उद्घाटनको अवसरमा कम्पनीले छिट्टै ग्राहकका लागि विशेष छुट योजना सार्वजनिक गर्ने जनाएको छ। साथै ग्राहकलाई थप जानकारीका लागि शाओमी नेपालको आधिकारिक सामाजिक सञ्जाल तथा सर्भिस सेन्टरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
वत्सल इम्पेक्सका निर्देशकद्वय गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै शाओमी प्रयोगकर्ताले अझ छिटो, सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार दक्ष प्राविधिक टोलीमार्फत सामान्यदेखि जटिल प्राविधिक समस्यासम्मको सेवा कम्पनीको आधिकारिक मापदण्डअनुसार उपलब्ध गराइनेछ।




























































