काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स यूएईका वैदेशिक व्यापारमन्त्री थानी अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र यूएईबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित तथा साझा चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटका क्रममा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने, व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
यूएई नेपालका प्रमुख आर्थिक साझेदारमध्ये एक हुनुका साथै नेपाली श्रमिकहरूको महत्वपूर्ण रोजगारी गन्तव्य पनि हो। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।



























































