काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सार्वजनिक यातायात क्षेत्रमा देखिएका बहुआयामिक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले यातायात व्यवसायीसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक दुर्घटनापछि हुने उपचार र क्षतिपूर्ति सम्बन्धी समस्यालाई चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष सरोज सिटौलाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री बानियाँले सार्वजनिक यातायातलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक नीति तथा कानुनी व्यवस्था अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा महासंघका अध्यक्ष सिटौलाले विशेषगरी काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक जाम, सडक दुर्घटनापछि मृतकका परिवारले पाउने क्षतिपूर्ति, घाइतेहरूको उपचार तथा त्यससँग सम्बन्धित व्यावहारिक समस्याबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
उनले दुर्घटनामा परेका घाइतेहरूको उपचार अधिकांश अवस्थामा महँगा निजी अस्पतालमा गर्नुपर्ने बाध्यता रहेको र बिमाबाट अधिकतम तीन लाख रुपैयाँसम्म मात्रै क्षतिपूर्ति उपलब्ध हुने व्यवस्थाले यातायात व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको बताए। उपचार खर्च बढ्दै जाँदा व्यवसायीलाई थप आर्थिक भार परेको उनको भनाइ थियो।
यसप्रति प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई पहिलो प्राथमिकतामा राख्दै प्रदेश सरकार मातहतका अस्पतालमा ट्रमा सेन्टर स्थापना तथा सुदृढीकरण गरिने जानकारी दिए। साथै, सरकारी अस्पतालमै प्रभावकारी उपचार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था मिलाउने दिशामा प्रदेश सरकारले पहल गर्ने उनले बताए।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशमा संघीय राजधानी काठमाडौँ रहेको र देशभरका कुल सवारी चापमध्ये ६० प्रतिशतभन्दा बढी भार यही प्रदेशमा पर्ने भएकाले सार्वजनिक यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको उल्लेख गरे। यद्यपि सरकार व्यवसायीसँग समन्वय र सहकार्य गर्दै यातायात क्षेत्रका समस्या क्रमिक रूपमा समाधान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ।
उनले सुरक्षित, भरपर्दो र व्यवस्थित सार्वजनिक यातायात प्रणाली निर्माणका लागि प्रदेश सरकार र यातायात व्यवसायीबीच निरन्तर सहकार्य आवश्यक रहेको पनि जोड दिए।



























































