काठमाडौँ –  गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्यु प्रकरणलाई लिएर आन्दोलन थप चर्किएको छ। शनिबार काठमाडौँको माइतीघर मण्डलामा विभिन्न समूहले प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहको पुत्ला दहन गरेका छन्। प्रदर्शनकारीहरूले गणेश नेपालीको घटनामा प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने माग गरेका हुन्।


ADVERTISEMENT


माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्य संयन्त्रको लापरबाही र गैरजिम्मेवार कार्यशैलीको परिणाम भएको आरोप लगाए। उनीहरूले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरे।


ADVERTISEMENT

# # #


प्रदर्शनका क्रममा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले गणेश नेपालीलाई न्याय देू, दोषीलाई कारबाही गरू,नैतिक जिम्मेवारी लिएर राजीनामा देऊू लगायतका नाराहरू लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए।

प्रदर्शनकारीहरूको भनाइमा गणेश नेपालीको आत्मदाह प्रयास कुनै व्यक्तिगत घटना मात्र नभई राज्यप्रतिको चरम निराशा र पीडाको अभिव्यक्ति हो। त्यसैले घटनालाई सामान्य रूपमा लिएर टार्न खोज्नु उचित नहुने उनीहरूको तर्क थियो।

उनीहरूले गणेश नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयको गहिरो अनुसन्धान गर्नुपर्ने माग गर्दै घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताए। साथै पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनका क्रममा केहीबेर तनावको अवस्था सिर्जना भए पनि सुरक्षाकर्मीको उपस्थितिमा स्थिति नियन्त्रणमा आएको थियो। पुत्ला दहनपछि प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा विरोध कार्यक्रम सम्पन्न गरेका थिए।

गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा विरोध प्रदर्शन, कोणसभा तथा खबरदारी कार्यक्रम भइरहेका छन्। राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा विभिन्न संघसंस्थाले घटनाको निष्पक्ष छानबिन, सत्यतथ्य सार्वजनिक गर्नुपर्ने तथा दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग दोहोर्याउँदै आएका छन्।

प्रदर्शनकारीहरूले सरकारले घटनालाई गम्भीर रूपमा नलिए जनआक्रोश अझ बढ्न सक्ने चेतावनी दिँदै सम्बन्धित निकायलाई तत्काल जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन्। उनीहरूको भनाइमा न्याय, जवाफदेहिता र जिम्मेवारी सुनिश्चित नभएसम्म आन्दोलन जारी रहनेछ।