काठमाडौं – निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ। अदालतको यो निर्णयसँगै निजी सञ्चारमाध्यमले सरकारी विज्ञापन पाउने बाटो पुनः खुलेको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन निषेध गर्ने सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो।
सरकारले २०८२ चैत १८ गते सचिवस्तरीय निर्णय गर्दै संघीय, प्रदेश र स्थानीय तहका सबै सरकारी सूचना तथा विज्ञापन गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सरकारी स्वामित्वका सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था गरेको थियो। त्यसपछि निजी रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यम सरकारी विज्ञापनबाट वञ्चित भएका थिए।
सरकारको उक्त निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुईंटेलले चैत २४ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। रिटमाथि असार २२ र २३ गते सुनुवाइ भएपछि अदालतले मंगलबार सरकारको निर्णय बदर गर्ने फैसला सुनाएको हो।
सर्वोच्च अदालतको यस फैसलाले सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यमको सहभागिता पुनः सुनिश्चित भएको छ।



























































