काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।
रक्त बैंकको सेवा थप प्रभावकारी बनाउने उद्देश्यले प्रदान गरिएका यी उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यता पहिचान गर्न सहयोग गर्ने बैंकले जनाएको छ।
बैंकका अनुसार उक्त सूक्ष्मदर्शीले रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई समेत थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरणसँगै जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



























































