काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि द्रुत गतिमा काम सुरु भइसकेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल संघ नेपालका पदाधिकारीसँग भएको विशेष छलफलमा उनले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न आग्रह गर्दै होटल व्यवसायीलाई कानुनको पालना गरी व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरेर करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी पीपीपी मोडेलमा सहकार्यका सम्भावनाबारे अध्ययन गर्न आग्रह गरेका छन्।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलको पनि सहभागिता रहेको थियो। सो अवसरमा होटल संघ नेपालका पदाधिकारीहरूले नेपालको होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको, तर हाल करिब १२ लाख पर्यटक मात्र नेपाल भित्रिरहेको जानकारी गराएका छन्। पर्यटक आगमन बढे रोजगारी सिर्जना हुने र युवाको वैदेशिक पलायन रोक्न होटल उद्योग प्रभावकारी माध्यम बन्न सक्ने उनीहरूले बताएका छन्।
उनीहरूले आरोग्य पर्यटन, डेस्टिनेसन वेडिङ र क्रस–बोर्डर पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, साना तथा मझौला होटलका लागि संक्षिप्त वातावरणीय मूल्याङ्कनको सीमा २५ शय्याबाट ५० शय्यासम्म पुर्याउन सरकारसँग माग गरेका छन्।
त्यसैगरी पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउन, नेपाल एयरलाइन्सको सेवा सुधार गर्न, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संशोधन गर्न तथा डेस्टिनेसन वेडिङ र आरोग्य पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
छलफलमा होटल संघ नेपालका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत लगायतको सहभागिता रहेको छ।



























































