काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारे जनतालाई जानकारी गराउने अभियान सञ्चालन गर्ने भएको छ।


ADVERTISEMENT


बुधबार संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै जनपक्षीय र सकारात्मक कामहरू जनतासम्म पर्याप्त रूपमा पुग्न नसकेको भन्दै पार्टीका सांसदहरू आफ्ना निर्वाचन क्षेत्रमा गएर ती उपलब्धिबारे जानकारी गराउने तयारी भइरहेको बताएका छन्।


ADVERTISEMENT

# # #


उनले निर्वाचन क्षेत्रमा जानुअघि पार्टी सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित छलफल गरी अभियानलाई अन्तिम रूप दिइने जानकारी दिएका छन्। केही पक्षले सरकारले काम नै नगरेको भन्ने भ्रम सिर्जना गर्न खोजेको उल्लेख गर्दै उनले रास्वपाले त्यसको तथ्यसहित जवाफ दिने बताए।

पराजुलीले सुशासन र जनपक्षीय काममा सरकारले उल्लेखनीय प्रगति गरेको दाबी गर्दै ती उपलब्धिलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन आवश्यक रहेको उल्लेख गरेका छन्।

त्यस्तै, उनले आगामी दिनमा संसदलाई अझ प्रभावकारी बनाउने र सांसदहरूको भूमिकालाई थप सशक्त बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिएका छन्। सबै राजनीतिक दलसँग सहकार्य र संवाद गर्दै सबैको सहभागितामा जनपक्षीय कानुन निर्माणमा सरकार र पार्टी दृढताका साथ अघि बढ्ने उनको भनाइ छ।