हेटौंडा- बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज दिउँसो ४:०० बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, मुख्य सचिव तथा सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा प्रदेश सरकारका समसामयिक विषय, विकास निर्माणका आयोजना, बजेट कार्यान्वयनको अवस्था, सार्वजनिक सेवा प्रवाह, सुशासन प्रवर्द्धन, प्रशासनिक सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकार जनताप्रति उत्तरदायी, पारदर्शी र परिणाममुखी ढंगले अघि बढिरहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिनुभएको बताइएको छ। उहाँले प्रदेशवासीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई सहज, छिटो र प्रभावकारी बनाउन सबै मन्त्रालयबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिनुभएको सचिवालयले जनाएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, विकास आयोजनालाई तीव्रता दिने, प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त बनाउने तथा नागरिकको हितलाई केन्द्रमा राखेर विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जनाइएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आजको बैठकबाट भएका निर्णयहरूको विस्तृत विवरण सम्बन्धित मन्त्रालयमार्फत क्रमशः सार्वजनिक गरिनेछ। प्रदेश सरकारका निर्णयहरू प्रदेशको समग्र विकास, सुशासनको सुदृढीकरण तथा नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यअनुसार कार्यान्वयन गरिने जनाइएको छ।



























































